काठमाडौँ । टी-२० विश्वकप क्रिकेट प्रतियोगितामा पाकिस्तानले सनसनीपूर्ण जित हासिल गरेको छ ।
भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको विश्वकपको उद्घाटन खेलमा पाकिस्तानले नेदरल्याण्ड्समाथि ३ विकेटको जित हासिल गरेको हो ।
श्रीलंकाको कोलम्बोमा भएको समूह एको खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले एक बल खेल्न बाँकी छँदै अलआउट हुँदै १४७ रन बनायो ।
कप्तान स्कट एड्वार्डसले २९ बलमा ३७ तथा बास डे लिडेले २५ बलमा ३० रन जोडे । पाकिस्तानका लागि सल्मान मिर्जाले ३ तथा मोहम्मद नवाज, अब्रार अहमद र सइम अयुबले समान २ विकेट लिए ।
जवाफमा पाकिस्तानले ३ बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर जित हासिल गर्यो । फहिम अशरफले ११ बलमा अविजित रहँदै २९ रन बनाउँदै टिमलाई जिताए ।
त्यस्तै सहिबजादा फर्हानले ३१ बलमा ४७ तथा सइम अयुबले १३ बलमा २४ रन बनाए । योसँगै नेदरल्याण्ड्सले जित हासिल गर्ने सुन्दर अवसर गुमायो ।
दोस्रो खेलमा अहिले स्कटल्याण्ड र वेष्ट इन्डिज खेल्दैछन् । यो खेल भारतको इडेन गार्डेनमा हुँदैछ । यो समूह सीको खेल हुनेछ ।
त्यस्तै तेस्रो खेलमा भारत र अमेरिका भिड्ने छन् । यो खेलमा भारतको वाङ्खेडे मैदानमा बेलुकी ७ः१५ बजेदेखि शुरू हुनेछ ।
नेपालको भिडन्त भने आइतबार हुनेछ । नेपालले पहिलो खेल इङ्गल्याण्डसँग खेल्नेछ । नेपाल समूह सीमा रहेको छ ।
नेपालको समूहमा इङ्गल्याण्डसँगै इटाली, स्कटल्याण्ड र वेष्ट इन्डिज छन् ।
समूह एमा भारत, पाकिस्तान, नेदरल्याण्ड्स, अमेरिका र नामिबिया रहेका छन् । समूह बीमा अष्ट्रेलिया आयरल्याण्ड, ओमान, श्रीलंका र जिम्बाब्वे रहेका छन् । समूह डीमा अफगानिस्तान, क्यानाडा, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र यूएई रहेका छन् ।





