Nidan Media

बैतडीमा जन्ती सवार बस दुर्घटना: १३ को मृत्यु, ३४ जना घाइते

काठमाडौँ । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ। पुर्चौडी नगरपालिका-७ भवनेबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १११९ नम्बरको बस बिहीबार बडगाउँ मोडमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार आठ जनाको घटनास्थलमै र अन्य पाँच जनाको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा ३४ जना घाइते भएका छन् । घाइतेहरूको डडेल्धुरा, धनगढी र बझाङका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

राहतको कुरा के छ भने उक्त बसमा बेहुला र बेहुली सवार थिएनन्। जिल्ला प्रहरी प्रमुख दीपककुमार रायका अनुसार घटनास्थलमै ज्यान गुमाउनेहरूमा बझाङको बित्थडचिर गाउँपालिकाका केशवराज जोशी, अशोकराज जोशी, वसन्त जोशी र विसनदत्त जोशी रहेका छन्।

यस्तै, केदारस्यु गाउँपालिकाका मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिकाका वसन्तराज रतला तथा बैतडी पुर्चौडी नगरपालिकाकी पुष्पा अवस्थीले पनि घटनास्थलमै ज्यान गुमाएका छन्। एक जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेहरूमा बित्थडचिर गाउँपालिकाका विसनदत्त जोशी, दीपकराज जोशी र किसनदत्त जोशी तथा केदारस्यु गाउँपालिकाका केशवराज भट्ट र पुर्चौडी नगरपालिकाका सुशील जोशी रहेका छन्।

प्रहरीका अनुसार भिरालो र साँघुरो सडकका कारण बस नियन्त्रण बाहिर गएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मीहरू उद्धारमा खटिएका थिए।

घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने आशंका गरिएको छ। यस दुर्घटनाले बैतडी र बझाङका गाउँहरूमा शोक छाएको छ।

विवाहको खुसी मनाउन हिँडेका जन्तीहरू अचानक यस्तो विपत्तिमा परेपछि पीडित परिवार शोकमा डुबेका छन्।

यसैबीच नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैतडीको पुर्चौडीबाट बझाङतर्फ जाँदै गरेको जन्ती बोकेको बस बडुगाउँमा दुर्घटनाग्रस्त भई ठूलो मानवीय क्षति भएको घटनाप्रतिे गहिरो दुःख व्यक्त गरेका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले उक्त दुःखद खबरले आफू अत्यन्तै मर्माहत बनेको उल्लेख गरेका छन् ।

जिल्ला प्रशासनसँग सम्पर्क गर्दा मृतक तथा घाइतेहरूको संख्या अझै यकिन हुन नसकेको जानकारी प्राप्त भएको पनि उनले बताए।

संयोजक प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका हुन् ।

साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उद्धार, उपचार तथा आवश्यक समन्वयका लागि सम्बन्धित पार्टी समितिहरूलाई आवश्यक पहल लिन निर्देशन दिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.