काठमाडौँ । नेपाली कांग्रेसले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिएर जानु नैतिकताको विषय नभएको स्पष्ट पारेको छ।
बिहीबार प्रतिनिधिसभा निर्वाचनबारे आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसेले चुनावी सरकारका मन्त्रीहरूले राजीनामा दिनु मानवअधिकारको विषय हुन सक्ने तर नैतिकताको विषय भने नभएको बताएका छन्।
उनले स्वतन्त्र, निर्भय र सुरक्षित वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गर्नु सरकारको कर्तव्य भएको बताएका छन्।
प्रवक्ता चालिसेले नागरिक र राजनीतिक दललाई निष्पक्ष वातावरणमा मतदान गर्न पाउने हक दिलाउनु सरकारको दायित्व भएकाले सरकार त्यसैमा केन्द्रित हुनुपर्ने बताएका छन्।
उनले नेपाली कांग्रेसले कुनै पनि पार्टीसँग चुनावी गठबन्धन नगर्ने स्पष्ट पारेका छन्। सबै निर्वाचन क्षेत्रमा कांग्रेसले आफ्ना उम्मेद्वार उठाइसकेको उल्लेख गर्दै उनले चुनावपूर्व कसैसँग गठबन्धन नहुने बताएका छन्।
गठबन्धन संस्कृतिले नागरिकमा अशान्ति पैदा गरेको दाबी गर्दै उनले चुनाव लक्षित कुनै पनि पार्टीसँग भेटघाट नभएको बताएका छन्।
सभापतिले पनि सार्वजनिक रूपमा यही कुरा भनिसकेको उल्लेख गर्दै उनले यसबाहेकका हल्लामा नपर्न आग्रह गरेका छन्।
प्रवक्ता चालिसेले अधिनायकवादी शक्तिहरू मिठा र चिप्ला कुरा गरेर आउने भएकाले नयाँ भन्नेहरूको भ्रममा नपर्नसमेत आग्रह गरेका छन्।
उनले अन्य दलहरूले चुनावी गतिविधिमा बालबालिकाको प्रयोग गरिरहेको आरोप लगाउँदै यस विषयमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन्।
विपक्षी पार्टी र नेताहरूप्रति सामाजिक सञ्जाल तथा अन्य माध्यममार्फत घृणास्पद अभिव्यक्ति र अमर्यादित टिप्पणी भइरहेको भन्दै उनले यसले स्वस्थ राजनीतिक प्रतिस्पर्धाको वातावरण बिगारिरहेको बताए।





