Nidan Media

साफ महिला च्याम्पियनसिप : भुटानमाथि भारतको शानदार जीत, नेपाललाई फाइनल पुग्न कठिन

काठमाडौँ । पोखरामा जारी १९ वर्षमुनिको (यू-१९) साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा भारतले भुटानलाई ८-० को फराकिलो अन्तरले पराजित गरेको छ।

पोखरा रङ्गशालामा भएको खेलमा भारतले सुरुदेखि नै दबाब बनाएर पहिलो हाफमै सात गोल गरेको थियो भने दोस्रो हाफमा थप एक गोल थप्यो।

भारतकी पर्ल फर्नान्डेजले खेलको छैटौँ, ३९औँ र ४१औँ मिनेटमा गोल गर्दै सानदार ह्याट्रिक पूरा गरिन्।

यस्तै, प्रतिका बर्मनले दुई गोल गरिन् भने एलिशा लिङदोज, एविस्था र दिव्यानी लिन्डाले समान एक-एक गोल गरेर टोलीलाई प्रभावशाली जित दिलाए।

यो जितसँगै भारतले फाइनल प्रवेशको सम्भावनालाई निकै बलियो बनाएको छ। दुई खेल जितेको भारतको अब बङ्गलादेशसँग समान छ अङ्क भएको छ। भारतको यो जितले घरेलु टोली नेपालका लागि भने फाइनल पुग्ने बाटो निकै चुनौतीपूर्ण बनाइदिएको छ।

हाल नेपाल तीन अङ्कसहित तालिकाको तेस्रो स्थानमा खुम्चिएको छ। प्रतियोगिताको नियम अनुसार लिग चरणका शीर्ष दुई टोलीले मात्र फाइनलमा प्रतिस्पर्धा गर्न पाउनेछन्। भुटान भने लगातारको हारपछि प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ।

अब लिग चरणको निर्णायक खेल नेपाल र बङ्गलादेशबीच हुँदैछ। यो खेलको नतिजाले नै फाइनल खेल्ने टोलीको टुङ्गो लगाउनेछ। नेपालले फाइनलको यात्रा तय गर्नका लागि बङ्गलादेशलाई फराकिलो गोल अन्तरले हराउनै पर्ने दबाब छ।

यदि नेपालले राम्रो नतिजा निकाल्न सकेन भने भारत र बङ्गलादेशबीच नै उपाधि भिडन्त हुने देखिन्छ। प्रतियोगिताको फाइनल खेल यही माघ २४ गते सञ्चालन हुने तय भएको छ। नेपाली समर्थकहरू अबको खेलमा आफ्ना चेलीहरूले उत्कृष्ट पुनरागमन गर्ने आशामा छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.