Nidan Media

निपाह भाइरसको जोखिम: नआत्तिन तर सतर्क रहन आग्रह

काठमाडौँ । छिमेकी देशहरूमा निपाह भाइरसको सङ्क्रमण देखिएपछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालमा यसको जोखिम न्यून भए पनि पूर्वतयारीका लागि देशभरका स्वास्थ्य संस्थालाई सतर्क गराएको जनाएको छ।

मन्त्रालयले निपाह भाइरस परीक्षणका लागि आवश्यक ‘एल्गोरिदम’ समेत तयार पारेको छ। विश्व स्वास्थ्य सङ्गठनले दक्षिण-पूर्वी एसियामा यसको जोखिम कम रहेको मूल्याङ्कन गरे पनि छिमेकी मुलुकको अवस्थालाई हेरेर नेपालले सुरक्षाका कदमहरू चालेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नागरिकको स्वास्थ्य सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वसाधारणलाई नआत्तिन तर सचेत र जिम्मेवार बन्न अनुरोध गरेका छन्। उनले फलफूल राम्ररी पखालेर मात्र खाने, तरकारी राम्रोसँग पकाउने र सफा पानी उमालेर मात्र पिउन सुझाव दिएका छन्।

यस्तै, जनावरका गोठ तथा फार्महरू सफा राख्ने, मासु काट्दा पन्जा र मास्क प्रयोग गर्ने, बेलाबेलामा साबुनपानीले हात धुने र भीडभाडमा जाँदा मास्क लगाउने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्न पनि उनले आग्रह गरेका छन्।

चिकित्सकहरूका अनुसार निपाह भाइरस विशेष गरी सङ्क्रमित चमेराको र्‍याल, पिसाब वा मलमूत्रले दूषित पारेका फलफूल खाँदा मानिसमा सर्ने गर्दछ।

साथै, सङ्क्रमित व्यक्तिको रगत, थुक वा नजिकको सम्पर्कबाट र चमेराबाट सुँगुर हुँदै पनि यो भाइरस सर्न सक्ने डा. बुढाथोकीले जानकारी दिए।

यदि कसैलाई ज्वरो आउने, टाउको र मांसपेशी दुख्ने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, चक्कर लाग्ने वा बान्ता हुने जस्ता लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य संस्था वा १११५ नम्बरमा सम्पर्क गर्न मन्त्रालयले सूचित गरेको छ।

गम्भीर अवस्थामा बिरामीले होस समेत हराउन सक्ने भएकाले लक्षण देखिने बित्तिकै बिरामीलाई ‘आइसोलेसन’ मा राख्न र रिपोर्टिङ गर्न मन्त्रालयले स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिएको छ।

सङ्क्रमण रोकथामका लागि व्यक्तिगत सरसफाइ र खानपानमा दिइने ध्यान नै यसबाट जोगिने मुख्य उपाय भएको विज्ञप्तिमा उल्लेख छ। मन्त्रालयले यस भाइरसको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको र आवश्यक परे थप कदमहरू चालिने स्पष्ट पारेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.