Nidan Media

जग्गा प्रकरणमा शेख हसिनालाई १० वर्षको कैद सजाय

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई जग्गा प्रकरणमा दोषी ठहर गर्दै ढाकास्थित अदालतले १० वर्षको कैद सजाय सुनाएको छ ।

राजधानी ढाकाको पुर्बाचल न्यू टाउन सरकारी परियोजनाअन्तर्गत २० कठ्ठा जग्गा अनियमित रूपमा बाँडफाँट गरेको अभियोगमा विशेष न्यायाधीश अदालत–४ ले शेख हसिनालाई दुई फरक मुद्दामा पाँच–पाँच वर्ष गरी कुल १० वर्षको जेल सजाय सुनाएको हो । अदालतका न्यायाधीश रोबिउल आलमले सोमबार फैसला सुनाएका हुन् ।

उही मुद्दामा शेख हसिनाकी बहिनी शेख रेहानाकी छोरी तथा बेलायती सांसद टुलिप रिजवाना सिद्दिकलाई प्रत्येक मुद्दामा दुई–दुई वर्ष गरी कुल चार वर्षको कैद सजाय सुनाइएको छ । यस्तै, अजमिना सिद्दिकलाई एक मुद्दामा सात वर्षको जेल सजाय दिइएको छ भने शेख हसिनाका छोरा रदवान मुजिब सिद्दिक (बोबी) लाई पनि सात वर्षको कैद सजाय सुनाइएको छ ।

टुलिप सिद्दिक शेख हसिनाकी भतिजी तथा पूर्व बेलायती मन्त्रीसमेत हुन् । यस मुद्दामा अदालतले ३१ जना साक्षीको बयान लिएको थियो । भ्रष्टाचार निवारण आयोग (एसीसी) का सहायक निर्देशक अफनान जन्नत कियाले अन्तिम अभियोजन साक्षीका रूपमा बयान दिएका थिए ।

भ्रष्टाचार निवारण आयोगले जनवरी १३, २०२५ मा १६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो भने अनुसन्धानपछि मार्च १०, २०२५ मा १८ जनाविरुद्ध अभियोगपत्र दायर गरिएको थियो । अदालतले जुलाई ३१, २०२५ मा अभियोग निर्धारण गर्दै सुनुवाइ सुरु गरेको थियो ।

यसैबीच, पुर्बाचल परियोजनाअन्तर्गत १० कठ्ठा जग्गा प्राप्त गर्न अधिकार दुरुपयोग र अनियमितता गरेको आरोपमा दायर अर्को मुद्दामा पनि यही अदालतले शेख हसिना, उनका छोरा रदवान मुजिब सिद्दिक तथा टुलिप सिद्दिकसहित १८ जनाविरुद्ध फागुन २ गते फैसला सुनाएको हो ।

बंगलादेशमा सन् २०२४ जुलाईमा विद्यार्थी नेतृत्वमा भएको आन्दोलनपछि अगस्ट ५ मा शेख हसिनाले भारतमा शरण लिएकी थिइन् । त्यसपछि नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भई शेख हसिना, उनका मन्त्रिपरिषद् सदस्य तथा अवामी लिगका नेताकार्यकर्ताविरुद्ध कानूनी प्रक्रिया अघि बढाइएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.