Nidan Media

राष्ट्रपति रामचन्द्र पौडेल जापानमा, सम्राट् नारुहितोसँग राजकीय भेटवार्ता गर्ने

काठमाडौँ । चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल सोमबार जापान पुगेका छन्।

उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेललगायतले स्वागत गरे।

जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति त्यसतर्फ प्रस्थान गरेका थिए।

नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठका अवसरमा आयोजना हुने विशेष समारोहमा उनी सहभागी हुने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन्।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोस्थित इम्पेरियल प्यालेसमा जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेटवार्ता गर्नेछन्।

साथै, उनले जापानकी प्रधानमन्त्री सुश्री ताकाइची सानाए र विदेश राज्यमन्त्री होरिइ इवाओसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

प्रेस सल्लाहकार पोखरेलका अनुसार राष्ट्रपति पौडेलले जापानी व्यावसायिक समुदायसँग अन्तरक्रिया गर्ने र जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने विशेष स्वागत समारोहमा समेत सहभागी हुनेछन्।

नेपाल र जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसयता दुवै देशबीच प्रगाढ सम्बन्ध रहिआएको छ, जसलाई थप सुदृढ बनाउन यो भ्रमणले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेका थिए। राष्ट्रपति पौडेल चार दिने भ्रमण सम्पन्न गरी यही माघ २१ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.