Nidan Media

उमा सुवेदीको ‘परिधि’ माथि परिचर्चा

पोखरा । पोखरेली युवा सांस्कृतिक परिवार, पोखराको आयोजनामा आख्यानकार उमा सुवेदीको पछिल्लो उपन्यास ‘परिधि’ को परिचर्चा गरिएको छ।

कार्यक्रममा साहित्यकार डा. ईश्वरमणि अधिकारी र गौरी तमूले उपन्यासमाथि समीक्षा प्रस्तुत गरे।

समीक्षक डा. अधिकारीले ‘परिधि’ भ्रमपूर्ण मानसिकता, विषाद, असन्तुलन र छलछामपूर्ण मुखुण्डो लगाएका पात्रहरूको वरिपरि घुम्ने मायावी केन्द्र र त्यसकै सेरोफेरोमा रहस्यपूर्ण ढंगले बुन्ने कथा-उपकथाहरूले अलग किसिमको परिधि निर्माण गरेको बताए।

बनोट, बुनोट, कथ्य र शैलीका हिसाबले यो उपन्यास सुवेदीका अघिल्ला कृतिभन्दा अझ परिपक्व र अर्थपूर्ण रहेको उनको भनाइ थियो।

उनले उपन्यासले मान्छेको मन, मस्तिष्क र चेतनाका गहिरा तहलाई छुने प्रयास गरेको उल्लेख गर्दै पात्रहरूको भोगाइ र सोचाइ सामान्य मान्छेभन्दा फरक भएकाले कृतिमा रहस्य, कौतुहल र जिज्ञासा जीवन्त देखिने बताए।

परिधि पढ्दा पाठक कहिले थ्रिलर त कहिले सस्पेन्स शैलीको दक्षिण भारतीय चलचित्र हेरेझैँ रोमान्चित हुने अनुभूति हुने उनको टिप्पणी थियो।

यद्यपि, दीर्घकालसम्म सम्झिने विषय कम र विषाद तथा दु:खी आत्माहरूको केन्द्रीयता अलि बढी रहेकोमा उनले गुनासो पनि व्यक्त गरे।

अर्की समीक्षक गौरी तमूले ‘परिधि’ ले नारी जीवनका विविध पाटाहरूलाई प्रभावकारी रूपमा समेटेको बताइन्।

उनका अनुसार उपन्यासले महिलाका अनुभूति, संघर्ष र भित्री संसारलाई परिधिबाट केन्द्रतर्फ ल्याउने प्रयास गरेको छ।

आख्यानकार उमा सुवेदीले उपन्यास लेखनको रचना-गर्भबारे जानकारी दिँदै पोखराको ऐतिहासिक साहित्यिक संस्थाको ब्यानरमा आफ्नो कृतिको परिचर्चा हुन पाएकोमा खुसी व्यक्त गरिन्। उनले आगामी दिनमा अझ जिम्मेवार ढंगले साहित्य सेवामा लाग्ने प्रतिबद्धता पनि जनाइन्।

वरिष्ठ साहित्यकार सरुभक्तले गिरीशवल्लभ जोशीको वीरचरित्रदेखि शुरू भएको नेपाली आख्यान लेखनको यात्राबारे चर्चा गर्दै मायिक यथार्थवाद र स्वैरकाल्पनिक लेखनका सौन्दर्य तथा चुनौतीमाथि प्रकाश पारे।

उनले समकालीन लेखनका विविध आयामहरूलाई बुझ्न यस्ता परिचर्चा कार्यक्रम महत्त्वपूर्ण हुने बताए।

संस्थाका अध्यक्ष साहित्यकार रीता अधिकारी ‘ऋतु’को अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष लक्ष्मण थापाले स्वागत र सचिव एमडी काफ्लेले सञ्चालन गरेका थिए।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.