पोखरा। साफ यू–१९ महिला च्याम्पियनशिप फुटबलमा घरेलु टोली नेपालले निराशाजनक शुरूआत गरेको छ ।
पोखरा रङ्गशालामा आइतबार भएको खेलमा नेपाल भारतसँग १-० गोलले पराजित भयो । खेलको पहिलो हाफ दुवै टोलीले गोल गर्न नसक्दा गोलरहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफको चौथो मिनेटमा भारतकी पर्ल फर्नान्डेजले गरेको गोल नै निर्णायक बन्यो ।
एक गोलले पछि परेपछि नेपालले खेलमा फर्कने प्रयास गरे पनि अवसरलाई सदुपयोग गर्न सकेन । यससँगै भारतले प्रतियोगिताको पहिलो खेलमै तीन अङ्क जोडेको छ ।
नेपालले अब सोमबार भुटानसँग दोस्रो खेल खेल्नेछ । यसअघि शनिबार सम्पन्न पहिलो खेलमा बंगलादेशले भुटानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो ।
बंगलादेशका लागि मोस्ट मुन्की अख्तरले चार गोल गरिन् भने श्रीमोती तृष्ना रानी र अल्पी अख्तरले ह्याट्रिक पूरा गरे । मामोनी चक्का र अर्पिता विश्वास अर्पिताले समान एक–एक गोल थपिन् ।
प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटान गरी चार टोली सहभागी छन् ।
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को समन्वय तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा सञ्चालन भइरहेको छ ।
लिग चरणपछि शीर्ष दुई टोलीले माघ २४ मा हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।




