सिरहा । सिरहामा गोली हानी एक जनाको हत्या भएको छ। सिरहा नगरपालिका-१ निवासी अन्दाजी ४५ वर्षीय प्रमेन्नाथ यादवको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको हो ।
स्थानीयका अनुसार यादव वडा नम्बर ७ स्थित मैनाबत्ती खोलाको किनारमा रहेको आफ्नै खेतमा ट्र्याक्टरले जोतिरहेको अवस्थामा अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए। गोली लागेर गम्भीर घाइते भएका यादवको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनाबारे जानकारी दिँदै वडाध्यक्ष महेशकुमार यादवले खेत जोतिरहेका बेला गोली प्रहार गरी हत्या गरिएको भन्ने खबर आफूले पनि पाएको बताए।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा डीएसपी रमेशबहादुर पालले प्रारम्भिक अनुसन्धानबाट गोली हानी हत्या गरिएको देखिएको जानकारी दिए ।
उनले भने, ‘घटनास्थलको अवस्था हेर्दा गोली प्रहार गरेर हत्या गरिएको देखिन्छ। तर कसले र किन गोली हानेको भन्ने विषय हालसम्म खुल्न सकेको छैन। यस विषयमा प्रहरीले गहिरो अनुसन्धान गरिरहेको छ ।’
घटनापछि स्थानीयवासीहरू त्रसित बनेका छन् भने प्रहरीले दोषीको पहिचान र पक्राउका लागि अनुसन्धान तीव्र पारेको छ ।





