काठमाडौँ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भूभागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।
उनका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ ।
यस प्रणालीका कारण गएरातिदेखि पश्चिमी भूभाग हुँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ ।
बुधबार बिहानबाट भने बाग्मती प्रदेशमा हल्का वर्षा शुरू भएको मौसमविद् महर्जनले जानकारी दिइन् ।
उनले भनिन्, ‘हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यो प्रणाली गए रातिदेखि पश्चिमी भूभागबाट नेपालका अन्य भूभागहरू गण्डकी, लूम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षा गराएको छ भने आज बिहानबाट बाग्मती प्रदेशमा हल्का वर्षा शुरू भएको छ ।’
गएरातिको वर्षा विवरणअनुसार सुर्खेत जिल्लाको खानी खोला स्टेशनमा सबैभन्दा बढी ४२.६ मिलिमिटर वर्षा मापन भएको छ ।
यसैगरी रुकुम पूर्वको शेरगाउँ स्टेशनमा ३७.८ मिलिमिटर र डडेलधुरामा २९ मिलिमिटर वर्षा मापन गरिएको उनले बताइन् । यी प्रदेशका धेरै स्थानमा मध्यम खालको वर्षा भएको उनको भनाइ छ ।
आगामी मौसमबारे जानकारी दिँदै मौसमविद् महर्जनले, ‘पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको बताइन् ।
‘अबको केही घण्टामा देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ,’ उनले भनिन् ।
उनका अनुसार बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ ।
यसैगरी मधेस प्रदेश र कोशी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा, तथा कोशी प्रदेशकै तराई भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।
मौसमको यो अवस्था आज साँझसम्म कायम रहनेछ। साँझपछि भने मौसममा क्रमिक रूपमा सुधार आउने र भोलिदेखि देशभर मौसम पूर्ण रूपमा खुल्ने मौसमविद् महर्जनले जानकारी दिइन् ।





