Nidan Media

होस्टेलमा भीषण आगलागी हुँदा चारको मृत्यु, छ घाइते

काठमाडौँ । रुसको राजधानी मस्को नजिकैको बालासिखा शहरस्थित एक होस्टेलमा मंगलबार भएको भीषण आगलागीमा परेर चार जनाको मृत्यु भएको छ भने अन्य छ जना घाइते भएका छन्।

स्थानीय अधिकारीहरूका अनुसार मस्को क्षेत्रीय अनुसन्धान समितिले दिएको जानकारीमा आगलागी निजी स्वामित्वमा रहेको तीन तले भवनको दोस्रो तलाबाट शुरू भई करिब ३५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको थियो। आगो नियन्त्रणमा लिन अग्निनियन्त्रक टोली खटिएको थियो।

उद्धारका क्रममा दुई पुरुष र दुई महिलाको शव फेला परेको जनाइएको छ। घाइते हुने छ जनामध्ये दुई जना बालबालिका र एक जना १५ वर्षीय किशोर रहेका छन्। उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानबाट आगलागी लापरवाहीपूर्वक आगो प्रयोगका कारण भएको हुनसक्ने देखिएको छ। साथै, उक्त भवनलाई अवैध रूपमा आवास प्रयोजनका लागि भाडामा दिइएको आशंका गरिएको छ।

अनुसन्धानकर्ताहरूले लापरवाहीका कारण मृत्यु भएको अभियोगमा आपराधिक मुद्दा दर्ता गरी घटनाबारे थप अनुसन्धान अघि बढाएका छन्।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.