काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन जिल्ला स्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृतहरू तोकेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आचारसंहिताको पालनालाई प्रभावकारी बनाउन जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरू (सीडीओ) लाई अनुगमनको जिम्मेवारी दिइएको छ।
सहायक प्रमुख जिल्ला अधिकारीहरूले आर्थिक बाहेकका अन्य आचारसंहिता उल्लंघनका विषयमा निगरानी र अनुसन्धान गर्नेछन्।
आर्थिक अनुशासन र निर्वाचन खर्चसँग सम्बन्धित विषयहरूलाई विशेष प्राथमिकता दिँदै आयोगले प्रमुख कोष नियन्त्रक तथा कोष नियन्त्रकहरूलाई आर्थिक विषयको अनुगमन अधिकृतका रूपमा खटाएको छ।
निर्वाचनलाई निष्पक्ष, पारदर्शी र विश्वसनीय रूपमा सम्पन्न गर्नका लागि आयोगले ल्याएको ‘निर्वाचन आचारसंहिता, २०८२’ माघ ४ गतेदेखि नै देशभर लागू भइसकेको छ। निर्वाचनका दौरान हुने अस्वस्थ प्रतिस्पर्धा र आचारसंहिता विपरीतका गतिविधि रोक्न यी अधिकृतहरूलाई फरक-फरक कार्यजिम्मेवारीसहित सक्रिय बनाइएको आयोगले जनाएको छ।



