काठमाडौँ । बाराको परवानीपुर गाउँपालिका वडा नं १ रहरियाडीमा आमा-छोराको हत्या भएको छ ।
बुधबार बिहान अज्ञात समूहले धारिलो हतियार प्रहार गर्दा ४६ वर्षीया सुमित्रादेवी मण्डल र उनका छोरा २४ वर्षीय रामेश्वर मण्डलको घटनास्थलमै मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) विजयराज पण्डितका अनुसार अज्ञात व्यक्तिको आक्रमणबाट परिवारका अन्य दुई सदस्य समेत गम्भीर घाइते भएका छन्।
घाइते हुनेहरूमा ५० वर्षीय घरमुली जगरूप मण्डल र उनकी छोरी २२ वर्षीया रीनाकुमारी छन्।
उनीहरूको अवस्था गम्भीर रहेको र परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनाको प्रकृति हेर्दा रिसइबीका कारण हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिए पनि हत्याको स्पष्ट कारण र संलग्न व्यक्तिहरूको पहिचान अझै हुन सकेको छैन।
हत्या कसले र किन गरेको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए।
यस घटनाले स्थानीय रहरियाडी क्षेत्रमा त्रास फैलाएको छ। घटनास्थललाई नियन्त्रणमा लिएर सुरक्षा सतर्कता बढाएको र तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरी दोषीको खोजी कार्य तीव्र पारेको प्रहरीले जनाएको छ।





