काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अस्पताल भर्ना भएका छन्।
उनको देब्रे खुट्टामा लागेको सामान्य चोट समय क्रममा बढ्दै छालाको भित्री तहमा संक्रमण (सेलुलाइटिस) देखिएपछि अस्पताल भर्ना गरिएको हो।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार उक्त संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै राखी चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार आवश्यक ठहर गरिएको छ । हाल सभापति लामिछाने सोही अस्पतालमा उपचाररत छन्।
चोट आफैंमा गम्भीर नभए पनि संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राख्दै चिकित्सकहरूको सुझावअनुसार पूर्ण उपचार तथा स्वास्थ्यमा सुधार आएपछि मात्र उनी नियमित राजनीतिक तथा सांगठनिक गतिविधिमा फर्किने बताइन्छ ।




