काठमाडौँ । समावेशिता, समझदारी र एकताको माध्यमबाट विश्वमा स्थायी शान्ति कायम गर्ने विश्वासका साथ आज विश्वभर पहिलो पटक ‘अन्तर्राष्ट्रिय शान्तिपूर्ण सहअस्तित्व दिवस’ मनाइँदै छ।
संयुक्त राष्ट्र सङ्घको महासभाले गत मार्चमा हरेक वर्षको २८ जनवरीलाई यस दिवसको रूपमा मनाउने ऐतिहासिक घोषणा गरेसँगै आज यो दिवस विश्वव्यापी रूपमा मनाउन लागिएको हो।
विश्वका विभिन्न क्षेत्रमा बढ्दो अस्थिरता र द्वन्द्वका बीच विविधता, संस्कृति, मूल्यमान्यता र फरक जीवनशैलीप्रतिको सचेतना जगाउन यो दिवसको विशेष महत्त्व रहेको छ।
विशेषगरी सहिष्णुता प्रवर्धनमा शिक्षाको भूमिकालाई उजागर गर्दै धार्मिक र सांस्कृतिक विविधता एवं मानवअधिकारको सम्मान गर्न राष्ट्रसङ्घले सबै सदस्य राष्ट्र, नागरिक समाज र सञ्चारमाध्यमहरूलाई आग्रह गरेको छ।
यो दिवसले अन्तर्राष्ट्रिय समुदायलाई राष्ट्रसङ्घको स्थापनाका आधारभूत सिद्धान्त र उद्देश्यहरूप्रति आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्ने अवसर प्रदान गरेको छ।
संयुक्त राष्ट्रसङ्घका अनुसार शान्ति भनेको केवल युद्धको अन्त्य मात्र होइन, बरु यो विभिन्न लिङ्ग, जाति, भाषा र धर्मका मानिसहरूबीच एकता र आत्मीयता कायम गर्दै मर्यादित सहअस्तित्व विकास गर्ने प्रक्रिया पनि हो।





