Nidan Media

आज गण्डकीसहित चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले आज देशका विभिन्न भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले छ।

आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा पूर्णतया बदली रहनेछ भने पहाडी तथा तराईका बाँकी भेगमा पनि बादल लाग्ने देखिन्छ।

यसैगरी उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने प्रक्षेपण गरिएको छ।

विशेषगरी आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बागमती, मधेस र कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा कोशी प्रदेशको तराईका एक-दुई स्थानमा हल्का वर्षा हुने अनुमान छ।

रातिको समयमा भने देशका पहाडी र हिमाली भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ।

यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका सीमित स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।

हिमपात र वर्षाका कारण नागरिकको दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य सेवाका साथै हवाई तथा सडक यातायातमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको छ।

चिसो बढ्ने र यात्रामा अवरोध हुन सक्ने परिस्थितिलाई दृष्टिगत गर्दै महाशाखाले सम्बन्धित सबै पक्षलाई आवश्यक सतर्कता अपनाउन विशेष अनुरोध गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.