काठमाडौँ । देशका नौ जिल्ला वन डढेलोको उच्च जोखिममा परेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेतमा डढेलोको जोखिम धेरै छ।
यस्तै अछाम, अर्घाखाँची, बारा, डडेल्धुरा, डोटी, गोरखा, जाजरकोट, कपिलवस्तु, मकवानपुर, नवलपुर, प्यूठान, सिन्धुली र उदयपुर मध्यम जोखिममा छन्।
डढेलोको जोखिम कम गर्न प्राधिकरणले पूर्वानुमान, निगरानी र चेतावनी प्रणालीलाई बलियो बनाउने योजना बनाएको छ।
वन व्यवस्थापन, पूर्वतयारी र समन्वयमार्फत डढेलो नियन्त्रण गर्ने लक्ष्य राखिएको छ।
संघ, प्रदेश र स्थानीय तहबीच सहकार्य गरेर डढेलो नियन्त्रणलाई प्रभावकारी बनाइनेछ। जनधन र वातावरणमा हुने क्षति कम गर्ने उद्देश्य राखिएको छ।
साथै जनचेतना बढाउने, मौसम पूर्वानुमानलाई सुधार गर्ने, प्रविधि र जनशक्ति प्रयोग गरी जोखिम क्षेत्रको निगरानी र पूर्वचेतावनी दिने रणनीति तय गरिएको छ।
डढेलोबाट प्रभावित समुदायको उद्धार, उपचार, राहत र पुनःस्थापनाका काम पनि प्रभावकारी बनाइने प्राधिकरणले जनाएको छ।





