काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका विभिन्न भागमा मौसममा बदलाब आउने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज विशेषगरी उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्ने र बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का हिमपात र वर्षाको सम्भावना रहेको छ।
साथै, देशका अन्य उच्च पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि सामान्य वर्षा वा हिमपात हुन सक्ने महाशाखाको पूर्वानुमान छ।
तराई क्षेत्रमा भने बिहानपख पूर्वी र मध्य भूभागका केही स्थानमा हुस्सु लाग्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।
आज राति पनि पहाडी र हिमाली भेगमा मौसममा सुधार हुने देखिँदैन।
गण्डकी र कर्णाली प्रदेशका केही पहाडी क्षेत्रका साथै उच्च हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना कायमै रहने महाशाखाले जनाएको छ।
चिसो बढ्ने र केही क्षेत्रमा हिमपात हुने भएकाले दैनिक जनजीवन र यात्रामा सतर्कता अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।





