काठमाडौँ । नेपालले टी-२० विश्वकपमा छानिने सम्भावना कायमै राखेको छ ।
लगातार दुई खेल हारेपछि तेस्रो खेलमा जिम्बाब्वेमाथि जित हासिल गर्दै नेपालले सुपर सिक्समा पुग्ने आशा जीवितै राखेको हो ।
काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले जिम्बाब्वेमाथि ६ विकेटको जित हासिल गरेको हो ।
एक सय ३० रनको चुनौती नेपालले ३ बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा पूरा गर्यो ।
उपकप्तान पूजा महतोले ५० बलमा अविजित रहँदै ५२ रन बनाइन् । कप्तान २३ बलमा २२ रन बनाइन् । जोसेफाइन कोमोले २ विकेट लिइन् ।
यसअघि कीर्तिपुर मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्दै जिम्बाब्वेलाई १२९ रनमा रोक्यो ।
जिम्बाब्बेले ६ विकेटको क्षतिमा १२९ रन बनायो । जिम्बाब्वेका लागि केलिस दोलोभूले ३६ बलमा अविजित रहँदै ५२ तथा बेलोभेड बिजाले ३४ रन बनाइन् ।
नेपालका लागि रिया शर्माले २ तथा कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १ विकेट लिए ।
अब नेपालले लिग चरणको अन्तिम खेलमा सोमबार स्कटल्याण्डसँग खेल्नेछ ।
समूहको तेस्रो स्थानमा रहेर सुपर सिक्समा पुग्नका लागि यो खेलमा नेपालले फराकिलो जित हासिल गरेर मात्र पुग्ने छैन अर्को खेलमा नेदरल्याड्सले थाइल्याण्डमाथिसमेत जित निकाल्नु पर्नेछ ।




