काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।
मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा शुरू भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ ।
समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ शुरू हुने आयोगले जनाएको छ ।
प्रत्यक्षतर्फको उम्मेद्वारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्याइएको थियो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तीन हजार चार सय छ जना उम्मेद्वारको नामावली आयोगले सार्वजनिक गरेको छ ।
आयोगले शुक्रबार नै निर्वाचन चिन्हसमेत प्रदान गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, तीन सय ८८ महिला र अन्यमा एक जना उम्मेद्वार तय भएका छन् ।
उम्मेद्वारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले उल्लेख गरेको छ ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ ।



