पोखरा । पोखरामा शुक्रबारबाट शुरू भएको छैटौँ टाइगर कप भलिबल प्रतियोगितामा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ, नेपाल आर्मी र टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले विजयी शुरूआत गरेका छन् ।
उद्घाटन खेलमा घरेलु टोली गण्डकीलाई एपीएफले ३-१ को सेटमा पराजित भएको गरेको हो । पहिलो सेट २५-२३ ले जितेको एपीएफले दोस्रो सेट २७-२५ ले गुमायो । तेस्रो सेट २५-१९ ले गण्डकीले जितेपछि सम्हालिएर खेलेको एपीएफले चौथो सेट २५-१९ ले आफ्नो पक्षमा पार्दै खेल जिल्न सफल भयो । सो खेलमा एपीएफका उपेन्द्र परियार प्लेयर अफ दी म्याच बने ।
अर्को खेलमा विभागीय टोली नेपाल आर्मीले विजयी शुरूआत गरेको छ । आर्मीले पाहुना टोली माल्दिभ्सलाई २५-१५, २५-२२ र २५-१० ले जित्न सफल भयो । खेलमा आर्मीका सुनील बोहोरा प्लेयर अफ दी म्याच बने ।
यता, महिलातर्फ भएको खेलमा टिपटप न्यू डायमण्ड यूथ स्पोर्ट्स क्लबले जित हात पारेको छ । न्यू डायमण्डले त्रिभुवन आर्मीलाई पहिलो सेट २५-१३, दोस्रो सेट २५-१६ र तेस्रो सेट २५-०८ ले सहज जित हात पार्न सफल भएको छ ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेकी न्यू डायमण्डकी सालिना बूढा मगर ‘प्लेयर अफ द म्याच’ घोषित भइन् ।
प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु ६ लाख ६६ हजार ६६६, दोस्रोले रु ३ लाख ६६ हजार ६६६ र तेस्रो हुने टोलीले रु २ लाख ६ हजार ६६६ रुपैयाँका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र हात पार्नेछन् ।
सर्वोत्कृष्ट खेलाडीलाई रु २६ हजार ६६६ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । विधागत उत्कृष्ट खेलाडीहरूलाई नगद रु ११ हजार ६६६ सहित उपहारको व्यवस्था गरिएको छ ।




