Nidan Media

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेद्वारलाई चुनाव चिह्न वितरण गरिँदै

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दर्ता गराएका उम्मेद्वारहरूलाई आफ्नो नाम फिर्ता लिन निर्वाचन आयोगले आज माघ ९ गते दिउँसो १:०० बजेसम्मको समय सीमा तोकेको छ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १०:०० बजेदेखि शुरू भएको उम्मेद्वारी फिर्ताको प्रक्रिया सकिएलगत्तै दिउँसो १:०० देखि ३:०० बजेसम्म उम्मेद्वारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ।

यसैगरी आजै अपराह्न ४:०० देखि साँझ ७:०० बजेसम्ममा चुनावी मैदानमा कायम रहेका उम्मेद्वारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने तयारी आयोगले गरेको छ।

यसअघि माघ ७ गते उम्मेद्वारहरू विरुद्ध दाबी विरोध र उजुरी दिने समय प्रदान गरिएको थियो भने बिहीबार बेलुकासम्म ती मनोनयनपत्र र उजुरीहरूमाथि जाँचबुझ गरी निर्णय सार्वजनिक गरिएको थियो।

देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ कुल तीन हजार चार सय ८६ उम्मेद्वारी दर्ता भएको छ, जसमा तीन हजार ८९ पुरुष, तीन सय ९६ महिला र अन्य एक जना छन्।

यही माघ ६ गते देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक रूपमा उम्मेद्वारी मनोनयन कार्य सम्पन्न भएको थियो।

प्रतिनिधिसभाको यो निर्वाचनमार्फत कुल दुई सय ७५ सदस्यहरू चयन हुनेछन्, जसमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट एक सय ६५ र समानुपातिक प्रणालीबाट एक सय १० जना निर्वाचित हुने संवैधानिक व्यवस्था छ।

आज निर्वाचन चिह्न प्राप्त गरेसँगै उम्मेद्वारहरू औपचारिक रूपमा आफ्नो चुनावी एजेन्डा र प्रचारप्रसारसहित मतदाताको घरदैलोमा पुग्नेछन्।

आयोगले निर्वाचन चिह्न प्रदान गरेलगत्तै चुनावी आचारसंहिताको पूर्ण पालना गर्दै प्रचारप्रसार गर्न सकिने जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.