काठमाडौँ । आईसीसी महिला टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले कमजोर प्रदर्शन गरेको छ । नेपालले लगातार दोस्रो हार बेहोरेसँगै सुपर सिक्स सम्भावनासमेत कमजोर बनेको छ ।
दोस्रो खेलमा नेपाल नेदरल्याण्ड्ससँग मात्र दुई रनले पराजित भयो । कीर्तिपुर मैदानमा भएको खेलमा जितका लागि १४१ रनको चुनौती पछ्याएको नेपालले ७ विकेटको क्षतिमा १३८ रन बनायो ।
आठौँ विकेटका लागि रूबिना क्षेत्री र सीता राना मगरबीच ४५ रनको साझेदारी हुँदै जित नजिक पुगे पनि अन्त्यमा नेपाल दुई रनले पराजित भयो ।
रूबिनाले ३२ बलमा अविजित रहँदै ३७ तथा सीताले १२ बलमा अविजित रहँदै २७ रन बनाइन् ।
नेपालले यसअघि ११ औँ ओभरमा ६२ रन जोड्ने क्रममा ५ विकेट गुमाइसकेको थियो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १४० रन बनायो ।
कप्तान बाबेट्टी डे लिडेले ४९ तथा स्टेरि कालिसले ३० रन बनाइन् । नेपालका लागि रबिना क्षेत्रीले २ तथा सोनु बिष्ट, पूजा महतो र रिया शर्माले समान एक विकेट लिए ।
समूह बीमा दुई खेल जितेर नेदरल्याण्ड्स र थाइल्याण्ड शीर्ष दुईमा रहेका छन् । स्कटल्याण्ड एक खेल खेलेर अंकविहीन छ भने नेपाल र जिम्बाब्वेले दुवै खेल हारेका छन् । समूह एमा बंगलादेशले दुवै खेल जितेको छ । आयरल्याण्ड र अमेरिकाले एक एक खेल जितेका छन् भने नामिबिया र पपुवा न्यूगिनी अंकविहीन छन् ।
तीन ओटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गरिरहेका छन् । दुई समूहमा विभाजन गरेर खेलाइएको छ ।
समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर सिक्सको यात्रा तय गर्नेछन् । सुपर सिक्सबाट शीर्ष चार राष्ट्रले विश्वकपको ढोका खेल्नेछन् ।
नेपाल समूह ‘बी’ मा छ । यो समूहमा नेपालसँगै नेदरल्याण्ड्स, जिम्बाम्बे, थाइल्याण्ड र स्कटल्याण्ड छन् । अर्को समूहमा बंगलादेश, अमेरिका, पपुवा न्यूगिनी, आयरल्याण्ड र नामिबिया रहेका छन् ।





