Nidan Media

निर्वाचनमा सुरक्षा चुनौती र समाधानका उपायहरूमाथि गम्भीर मन्थन

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र पारदर्शी रूपमा सम्पन्न गराउन निर्वाचन आयोगले सुरक्षा रणनीतिबारे उच्चस्तरीय छलफल गरेको छ।

कान्तिपथस्थित आयोगको कार्यालयमा बुधबार आयोजित बैठकमा आशन्न निर्वाचनलाई लक्षित गरी सुरक्षा व्यवस्थापनका चुनौती र समाधानका उपायहरूमाथि गम्भीर मन्थन भएको हो।

छलफलमा विशेषगरी निर्वाचन बिथोल्न सक्ने आपराधिक गतिविधिहरूको पहिचान, त्यस्ता तत्वहरूलाई नियन्त्रणमा लिई कानूनी दायरामा ल्याउने र मतदाताहरूले निर्धक्कसँग मतदान गर्न पाउने वातावरण सुनिश्चित गर्ने विषयमा जोड दिइएको छ।

सबै सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय र सहकार्य गर्दै एकीकृत सुरक्षा योजना कार्यान्वयन गर्ने प्रतिबद्धता समेत बैठकमा व्यक्त गरिएको छ।

बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शमशेर जबराको उपस्थिति थियो।

त्यसैगरी गृह सचिव राजकुमार श्रेष्ठ, आयोगका सचिव कृष्णबहादुर राउत र प्रहरी महानिरीक्षक दानबहादुर कार्की लगायत सुरक्षा निकायका प्रमुखहरूको सहभागिता रहेको थियो।

निर्वाचन आयोगले मतदान केन्द्रको सुरक्षा, मतपेटिका ढुवानी र उम्मेद्वारहरूको सुरक्षाका लागि विशेष ‘थ्रेट एसेसमेन्ट’ गरी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ। गृह मन्त्रालयले पनि निर्वाचन अवधिभर सुरक्षा व्यवस्थालाई चुस्त राख्न मातहतका निकायलाई निर्देशन दिइसकेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.