Nidan Media

दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हानलाई २३ वर्षको जेल सजाय

काठमाडौँ । दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डक-सूलाई महाभियोग लागेका पूर्व राष्ट्रपति युन सुक-योलको विद्रोहमा सहयोग र दुरुत्साहन गरेको अभियोगमा बुधबार २३ वर्षको जेल सजाय सुनाइएको छ ।

सियोल सेन्ट्रल डिस्ट्रिक्ट कोर्टले युनको मार्शल ल (सैनिक शासन) घोषणासँग सम्बन्धित विद्रोहका महत्वपूर्ण कार्यहरूमा संलग्न भएको र विद्रोहलाई बढावा दिएकोमा हानलाई उक्त सजाय सुनाएको हो ।

युनको विद्रोह र अन्य आरोपहरूको अनुसन्धान गर्ने स्वतन्त्र काउन्सिल चो युन-सुकको टोलीले १५ वर्षको जेल सजाय माग गरेको थियो ।

अदालतले सन् २०२४ डिसेम्बर ३ मा युनले घोषणा गरेको संकटकालीन मार्शल ल संवैधानिक व्यवस्थालाई उल्ट्याउने उद्देश्यले गरिएको विद्रोह भएको पुष्टि गरेको छ ।

हानले अवैध मन्त्रिपरिषद् बैठक बोलाएर अवैध मार्शल ललाई वैधताको प्रक्रियागत आवरण प्रदान गर्न मद्दत गरेको अदालतले औंल्याएको छ ।

यदि हानले प्रधानमन्त्रीको रूपमा आफ्नो कर्तव्य पूरा गरेको भए विद्रोह रोक्न सकिने उल्लेख गर्दै अदालतले उनले आफ्नो सुरक्षाका लागि मार्शल लसँग सम्बन्धित कागजातहरू लुकाएको र मार्शल ललाई कानूनी प्रक्रिया पछ्याएको जस्तो देखाउन कागजातहरू किर्ते गरी नष्ट गरेको ठहर गरेको छ ।

फैसला लगत्तै अदालतले प्रमाण नष्ट गर्ने जोखिम रहेको भन्दै हानलाई अदालतबाटै हिरासतमा लिन आदेश दिएको छ ।

युनको विद्रोहसम्बन्धी मुद्दाको पहिलो चरणको फैसला फेब्रुअरी १९ का लागि तय गरिएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.