काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह आगामी माघ १२ गते जनकपुरधाम जाने भएका छन्।
पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार पूर्वराजा दम्पतीको जनकपुर भ्रमण र जानकी मन्दिरमा दर्शन एवं पूजाअर्चना गर्ने कार्यक्रम तय भएको छ।
पछिल्लो समय देशका विभिन्न भागको भ्रमण गरिरहेका पूर्वराजाको जनकपुर आगमनलाई लिएर स्थानीय स्तरमा विशेष तयारी शुरू गरिएको छ।
भ्रमणलाई व्यवस्थित र भव्य बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) धनुषाले सक्रियता देखाएको छ।
गत आइतबार बसेको राप्रपा धनुषाको बैठकले पूर्वराजाको स्वागतका लागि पार्टीको सुशासन विभागका केन्द्रीय सदस्य श्रवणकुमार झाको अध्यक्षतामा एक हजार एक सदस्यीय ‘मूल समारोह स्वागत समिति’ गठन गर्ने निर्णय गरेको थियो।
पूर्वराजाको नागरिक अभिनन्दन र जानकी मन्दिर दर्शनको कार्यक्रमलाई ऐतिहासिक बनाउन विभिन्न उपसमिति गठन गरी तयारीलाई तीव्र पारिएको बताइएको छ।
फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको पूर्वराजाको यो मधेस भ्रमणलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ।
जनकपुर बसाईका क्रममा उनले विभिन्न धार्मिक स्थलको भ्रमणका साथै शुभेच्छुकहरूसँग भेटघाट गर्ने सम्भावनासमेत छ।




