काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेद्वारको मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगका अनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्न सकिनेछ।
प्रत्यक्षतर्फ उम्मेद्वारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ।
उम्मेद्वारले एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र पेस गर्नुपर्नेछ।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा सरकारी स्वामित्व वा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उम्मेद्वारी दिनुअघि पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने व्यवस्था छ।
दलको तर्फबाट उम्मेदवारी दिने हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट प्रदान गरिएको औपचारिक मनोनयन पत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ।
उम्मेद्वारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ भने महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेद्वारलाई सो धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ।
आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।
यसका साथै उम्मेद्वारले स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम, सम्पत्ति विवरण, पेस्की फछ्र्योट तथा बेरुजु फछ्र्योटसम्बन्धी आवश्यक निस्साहरू पनि पेस गर्नुपर्नेछ।
मनोनयन दर्तासँगै देशभर राजनीतिक दलहरूका गतिविधि तीव्र बनेका छन् भने निर्वाचन कार्यालय वरपर चुनावी चहल-पहल बढेको छ।





