जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूलाई छलछाम गरेर संसदबाट हटाइएको दाबी गरेका छन्।
उनले अब रास्वपालाई सबैभन्दा धेरै मत ल्याउने पार्टी बनाएर संसदमा फर्किने बताए।
जनकपुरमा भएको चुनावी सभामा बोल्दै लामिछानेले चितवनबाट धेरै मत ल्याएर जिते पनि षड्यन्त्रका कारण सांसद पद गुमाउनुपरेको बताए।
‘चितवनबासीले धेरै भोट दिएर पठाएका थिए, तर छल गरेर संसदबाट निकालियो,’ उनले भने।
आफूमाथि लगातार मुद्दा लगाइएको भन्दै उनले त्यसबाट नडराउने बताए। जनताको पक्षमा लड्ने मान्छे यस्ता मुद्दासँग डराएर नबस्ने उनको भनाइ थियो।
लामिछानेले काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहसँगको भेटबारे पनि बोले।
उनले बालेनसँगको भेट छोटो भए पनि अर्थपूर्ण भएको बताए। देश र जनतालाई केन्द्रमा राख्दा धेरै कुरा गर्नु नपर्ने उनले बताए।
उनले आफू र बालेन शाह दुवै देश र जनताको हितका लागि एकै सोचमा आएको भन्दै अब नेपालले गरिबी र विभेद सहन नसक्ने अवस्थामा पुगेको बताए।





