काठमाडौँ । नेपाली कांग्रेस सभापति गगनकुमार थापाले उम्मेद्वार छनोटको काम आज दिनभरिमा टुंग्याउने जानकारी दिएका छन्।
सामाजिक सञ्जालमार्फत् सोमबार भिडियो सन्देश सार्वजनिक गर्दै सभापति थापाले यस्तो जानकारी गराएका छन् ।
भिडियो सन्देशमा सभापति थापाले उम्मेद्वार छनोट निष्पक्ष, समावेशी र सन्तुलित हुने स्पष्ट पारे ।
उम्मेद्वार छनोटको प्रक्रिया अन्तिम चरणमा पुगेको भन्दै उनले समयको चाप र प्रक्रियागत सीमाबीच पनि न्यायपूर्ण निर्णय गर्ने प्रयास भइरहेको जानकारी दिए ।
उनले भने, ‘पार्टीभित्र देखिएको छलफल र असहमति स्वाभाविक हो । अब सबै नेता तथा कार्यकर्ता पार्टीको आधिकारिक उम्मेद्वारको पक्षमा एकजुट भएर चुनावी मैदानमा उत्रिनुपर्छ । यो व्यक्तिगत प्रतिस्पर्धा नभई कांग्रेसको साझा लडाइँ हो ।’
सभापति थापाले पार्टीको निर्णयलाई सम्मान गर्दै संगठन सुदृढ बनाउने दिशामा लाग्नुपर्नेमा जोड दिए ।
लोकतान्त्रिक मूल्य, एकता र समर्पणका आधारमै कांग्रेसलाई थप बलियो बनाउन सकिने उनको धारणा छ।
उनले उम्मेद्वार छनोटका क्रममा उत्पन्न असन्तुष्टिले चुनावी अभियानमा नकारात्मक असर नपरोस् भनेर सबैलाई संयमित र जिम्मेवार बन्न आग्रह गरे ।
उनले भने, ‘आज दिनभरिमा सबै कुरा टुंग्याउछौँ । ‘बेष्ट’ कोसिस गर्छौँ । सकेसम्म यसलाई राम्रो बनाउने । म सबैलाई अनुरोध गर्छु, भोलि सबै जनाले आ-आफ्नो ‘कन्सिच्युअन्सी’ मा गएर आफूलाई चित्त कतिपय कुरामा नबुझ्ला । नबुझेता पनि जो साथी पार्टीको तर्फबाट रूख चिह्नको आधिकारिकता लिएर आउनुहुन्छ, त्यो साथीको पक्षमा सबैजना पार्टीका साथीहरू एकढिक्का भएर, मनमा कुनै पनि कुरा नराखिकन यो एउटा अभियान हो । यो अभियानमा हामी सबै जुट्नपर्छ भनेर तपाईंहरू लाग्नुहुन्छ भन्ने विश्वासको साथमा सबैलाई अनुरोध गर्न चाहन्छु । अपील गर्न चाहन्छु ।’





