काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आज (सोमबार) देखि देशभर ‘निर्वाचन आचारसंहिता, २०८२’ लागू गरेको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले स्वीकृत गरिएको यो आचारसंहिता नेपाल राजपत्रमा समेत प्रकाशित भइसकेको छ।
आयोगका अनुसार अर्को सूचना जारी नभएसम्मका लागि विभिन्न निकाय र त्यहाँ कार्यरत व्यक्तिहरूलाई यसको पालना अनिवार्य गरिएको छ।
यो आचारसंहिता नेपाल सरकार र प्रदेश सरकारका मन्त्रीहरू, संवैधानिक निकायका पदाधिकारीहरू र सरकारी वा प्रदेश सरकार मातहतका सबै निकायका पदाधिकारीमा लागू हुनेछ।
यसैगरी, स्थानीय कार्यपालिकाका सदस्यहरू, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकायका कर्मचारी, र सरकारी एवं अर्धसरकारी संस्थामा कार्यरत कर्मचारीहरू पनि यसको दायरामा समेटिएका छन्।
आचारसंहिताको दायरालाई व्यापक बनाउँदै आयोगले राजनीतिक दल, तिनका भातृ सङ्गठन, उम्मेद्वार, निर्वाचन प्रतिनिधि, र सार्वजनिक पद धारण गरेका व्यक्तिहरूलाई समेत यसको पालना गर्न निर्देशन दिएको छ।
पर्यवेक्षण गर्ने संस्था, सञ्चार प्रतिष्ठान, सञ्चारकर्मी, निजी तथा गैरसरकारी संस्था, शिक्षण संस्थाका शिक्षक र कर्मचारीहरूलाई पनि आचारसंहिता लागू हुनेछ।
यसैगरी, मतदाता, विकास साझेदार संस्था, निजी क्षेत्रका बैंक तथा वित्तीय संस्था, सहकारी, र व्यापारिक तथा औद्योगिक क्षेत्रका पदाधिकारी एवं कामदार समेत आचारसंहिताको दायराभित्र परेका छन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनको पवित्रता कायम राख्न र आचारसंहिताको पूर्ण कार्यान्वयनका लागि सबै सरोकारवाला पक्षबाट सहयोगको अपेक्षा गरिएको बताएका छन्।





