काठमाडौँ । निर्वाचन आयोगले आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ।
आयोगका अनुसार आइतबार बसेको बैठकले आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता बनाई लागू गरेको आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन गर्नुपर्ने कार्यतालिका छ।
यसैबीच प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन् । आशन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेद्वारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आइतबार प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरेकी हुन् ।
उक्त छलफलमा निर्वाचन आयोगले आचारसंहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ ।
कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आयोगका तर्फबाट आचारसंहितबारे विशेष प्रस्तुतिकरण पनि गरिएको थियो ।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरू, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरूको पनि उपस्थिति थियो।




