पोखरा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कास्कीमा राजनीतिक गतिविधि बढेको छ।
निर्वाचन आयोगले माघ ६ गते उम्मेद्वारी दर्ताको समय तोकेपछि दलहरू उम्मेद्वार टुंग्याउन व्यस्त छन्।
यसैबीच एमालेले कास्कीका तीनै निर्वाचन क्षेत्रमा उम्मेद्वारका नाम सार्वजनिक गरिसकेको छ।
कास्की-१ मा बैनबहादुर अधिकारी क्षेत्री, कास्की-२ मा कृष्ण थापा र कास्की-३ मा दामोदर बैरागी उम्मेद्वार रहने एमाले कास्कीले जनाएको छ।
अन्य दलहरू भने आन्तरिक छलफलमै छन्। नेपाली कांग्रेसले छलफल जारी राखेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीमा २१ जनाले उम्मेद्वारीका लागि इच्छा देखाएका छन्। नेकपाले युवा र महिलालाई प्राथमिकता दिँदै केन्द्रमा नाम सिफारिस गरिसकेको छ।
कास्कीमा यसपटक कुल तीन लाख आठ हजार पाँच सय ७२ जना मतदाता छन्, जसमा सबैभन्दा बढी क्षेत्र नं १ मा एक लाख १६ हजार आठ सय ७८ मतदाता छन्।
यस्तै, क्षेत्र नं २ मा ८४ हजार एक सय ३४ र क्षेत्र नं ३ मा एक लाख सात हजार पाँच सय ६० मतदाता रहेको प्रदेश निर्वाचन कार्यालय पोखराले जनाएको छ।
मनोनयन दर्ताको मिति नजिकिँदै जाँदा दलहरू घरदैलो कार्यक्रमको तयारीमा जुटेका छन्।





