काठमाडौँ । निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिक पार्टी मान्यता दिएको छ।
आयोगको शुक्रबारको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो।
थापा सभापति नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट चयन भएका थिए, जसमा बहुमत प्रतिनिधि सहभागी थिए।
सभापति चयन भएपछि उनले केन्द्रीय समितिको बैठकको निर्णय लिएर आयोगमा आधिकारिकता दाबी गरेका थिए।
आयोगले सबै कागजात जाँचेर थापाको नेतृत्वको समिति आधिकारिक ठहराएको हो।
नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि ३० गतेसम्म भृकुटीमण्डपमा भएको थियो।
यससँगै पार्टीको चुनाव चिह्न (रुख) र झण्डा (चारतारे) शेरबहादुर देउवाबाट थापातर्फ सरेको छ।
देउवा पक्षले पनि आफू आधिकारिक भएको दाबी गर्दै आयोगमा कागजात पेश गरेको थियो।
यसैबीच निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगनकुमार थापा नेतृत्वको टोलीलाई दिएको निर्णयमा शेरबहादुर देउवा पक्ष असन्तुष्ट छ।
देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतले भने, “आयोगले नियमको पालना गरेन। अब हामी अगाडि के गर्ने भन्ने कुरा छलफल गर्नेछौँ।”





