काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गगन थापाको नेतृत्वमा गएका केही नेतामात्र पार्टीबाट अलग भएको टिप्पणी गरेका छन्।
निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न पुगेका उनले पार्टीका बहुमत केन्द्रीय सदस्यहरू अझै आफूहरूसँगै रहेको बताए।
उनले निर्वाचन आयोग जानुपर्ने अवस्था नरहेको भए पनि सञ्चारमाध्यमको दबाबका कारण त्यहाँ पुग्नुपरेको बताए।
पार्टीको आधिकारिकताको निर्णय निर्वाचन आयोगले लोकतान्त्रिक पद्धतिअनुसार गर्ने विश्वास उनले व्यक्त गरे।
डा. कोइरालाले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउने अधिकार राखे पनि त्यसको कार्यसूची, कार्यतालिका र कार्यविधि केन्द्रीय समितिले नै तय गर्नुपर्ने व्यवस्था विधानमा स्पष्ट रहेको बताए।
कुनै पदाधिकारीले एक्लै विशेष अधिवेशन बोलाउने अधिकार नरहेको उनको भनाइ छ।
उनले पार्टीभित्र व्यक्ति नभई संस्थाको निर्णयलाई मान्यता दिनुपर्नेमा जोड दिए।
साथै, महाधिवेशनमा सहभागी भएका आठ सय ८५ जना प्रतिनिधिहरूले उक्त महाधिवेशनबाट आफूहरू फर्किएको भन्दै हस्ताक्षर पार्टी कार्यालयमा बुझाएको र ती प्रमाण निर्वाचन आयोगमा पनि पेश गरिएको जानकारी दिए।





