काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा सरकारले पाँच खर्ब ८१ अर्ब ४१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
यो पुससम्मको लक्ष्यको ८१.७५ प्रतिशत हो ।
सरकारले पुससम्म सात खर्ब ११ अर्ब २१ करोड रुपैयाँ राजश्व उठाउने लक्ष्य राखे पनि करिब एक खर्ब २९ अर्ब रुपैयाँ कम संकलन भएको छ ।
तर पुस महिनामात्रैको राजश्व भने सन्तोषजनक देखिएको छ ।
पुस महिनामा एक खर्ब ९० अर्ब रुपैयाँ लक्ष्य राखिएकोमा एक खर्ब ७१ अर्ब रुपैयाँभन्दा बढी राजश्व उठेको अर्थ मन्त्रालयले जनाएको छ ।
पुस ३० गते एकै दिनमा २० अर्ब रुपैयाँभन्दा बढी राजश्व संकलन भएको थियो ।
अर्थ मन्त्रालयका अनुसार अघिल्लो वर्षको तुलनामा पुस महिनाको राजश्वमा सुधार देखिए पनि समग्र लक्ष्य हासिल गर्न अझै चुनौती छ ।
बाँकी महिनामा राजश्व संकलन तीब्र बनाइने मन्त्रालयले जनाएको छ ।



