काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा नेपालीकै सरकार हुनुपर्ने बताएका छन्। ४२औँ पिस्कर शहीद स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले इतिहासदेखि नै संघर्ष, त्याग र बलिदानको परम्परा चल्दै आएको बताए।
नेपालीकै सरकार हुनुपर्छ भन्ने धारणा राख्ने व्यक्ति, दल र संस्थामाथि आक्रमण हुनु दुःखद् भएको भन्दै उनले यसको विरोध गर्नुपर्ने बताए।
अध्यक्ष ओलीले संघर्ष अहिले मात्र नभई विगतदेखि नै हुँदै आएको उल्लेख गरे। उनले जनतामाथि आक्रमण र दमन भए पनि जनताले निरन्तर संघर्ष गर्दै उपलब्धि हासिल गर्दै आएको बताए। उनका अनुसार बलिदानको क्रम पहिले पनि थियो र अहिले पनि जारी छ।
उनले संघर्ष र उपलब्धि सँगसँगै अघि बढिरहेको भन्दै अहिले पनि त्याग र बलिदान आवश्यक रहेको बताए। वर्तमान राजनीतिक संघर्षको मुख्य विषय नेपालमा नेपालीकै सरकार स्थापना गर्नु रहेको उनको भनाइ थियो। नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र भएकाले यहाँ विदेशी होइन, नेपाली सरकारले नै शासन गर्नुपर्ने उनले स्पष्ट पारे।
अध्यक्ष ओलीले नेपालीकै सरकार हुनुपर्छ भन्ने शक्तिहरूमाथि आक्रमण भइरहेको आरोप लगाए। उनले मनोबल कमजोर पार्न व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका भवनमा आगजनी गरिएको तथा नेपाली अर्थतन्त्र बलियो हुनुपर्छ भन्ने उद्योग–व्यवसायमाथि आक्रमण गरिएको बताए।
उनले यस्ता गतिविधिप्रति सचेत रहन र राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताको रक्षा गर्न सबै एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।





