काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विशेष महाधिवेशन पार्टी विधानको धारा १५ अनुसार पार्टीको सर्वोच्च निकाय भएकाले त्यसले गरेका निर्णय सर्वोपरि हुने उनले बताएका छन्। बिहीबार विवरण अद्यावधिक गर्न निर्वाचन आयोग पुगेका उनले यस्तो बताएका हुन् ।
पार्टीको नयाँ केन्द्रीय कार्यसमितिको विवरण शनिबारसम्म निर्वाचन आयोगले अद्यावधिक गर्ने विश्वास व्यक्त गरे । नेपाली कांग्रेसको विधानको धारा १७(२) बमोजिम गरिएको विशेष महाधिवेशनले नेतृत्व चयन गरेकोले सो को जानकारी औपचारिक रुपमा आयोगलाई गराइएको उनले जानकारी दिए ।
महाधिवेशनबाट नयाँ केन्द्रीय कार्यसमिति चयन भइसकेकाले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५१ अनुसार सो विवरण निर्वाचन आयोगमा अद्यावधिक गर्न निवेदन दिएको उनको भनाइ ।
विशेष महाधिवेशनले निर्वाचित गरेको नयाँ केन्द्रीय कार्यसमितिलाई अद्यावधिक गरिदिन आवश्यक सम्पूर्ण कागजात र विवरणसहित निवेदन दिएकोले छिट्टै अद्यावधिक हुने विश्वास व्यक्त गरे ।
माघ ६ गते हुने प्रतिनिधि सभा निर्वाचनको मनोनयन प्रक्रियालाई ध्यानमा राख्दै निर्वाचन आयोगले अत्यन्त छिटो अद्यावधिकको काम टुंग्याउनुपर्ने उनले आवश्यकता औंल्याए ।
उनले यो कुनै दलभित्रको विवादसम्बन्धी विषय नभई विधिपूर्वक सम्पन्न महाधिवेशनको विवरण अद्यावधिक गर्ने सामान्य प्रशासनिक प्रक्रियामात्र भएको दाबी गरे ।
आयोगले यसलाई छिट्टो टुंगोमा पुर्याएर पार्टीभित्र र बाहिर देखिएका अन्योल र दुविधा अन्त्य गर्नुपर्ने बताए ।
‘नेपाली कांग्रेस पार्टीको विधान धारा १७(२) बमोजिम नेपाली काँग्रेसको विशेष महाधिवेशनको आयोजना भयो । र विशेष महाधिवेशन पार्टीको विधानको धारा १५ बमोजिम बमोजिम पार्टीको सर्वोच्च संस्था हो । अधिवेशनले गरेको निर्णय नै सर्वोपरि हुन्छ भन्ने जुन व्यवस्था हो, त्यही व्यवस्था अनुरुप सम्पन्न भएको महाधिवेशनले गरेका निर्णयहरुका बारेमा हामीले आज निर्वाचन आयोगलाई जानकारी गराएका छौँ’, सभापति थापाले भने ।
उनले नेपाली कांग्रेसको विद्यमान केन्द्रीय कार्यसमिति बदलिएको बताए । उनले भने, ‘त्यो केन्द्रीय कार्यसमिति बदलिए पनि नयाँ आएको केन्द्रीय कार्यसमितिको बारेमा राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम अध्यावधिक गर्ने कुराको हामीले केही समयभित्रमा अधिवेशनको गरेको कुरा निर्वाचन आयोगलाई जानकारी गराइसक्नुपर्ने भएकाले नर्वाचन आयोगमा त्यही कुरा जानकारी गराएका छौँ ।’
विशेष अधिवेशनबाट नेतृत्व परिवर्तनसहित केन्द्रीय कार्यसमिति नै नयाँ आएको भन्दै सभापति थापाले यसलाई अध्यावधिक गरिदिनुहोला भन्ने निवेदन लिएर आएका स्पष्ट पारे ।
उनले पार्टीको विशेष महाविधेशन आधिकारिक रहेकोले आफूहरू नै आधिकारिक नेपाली कांग्रेस भएको जिकिर गरे ।





