काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारले निष्पक्ष निर्वाचन गराउने बताएका छन् ।
बुधवार मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा उनले यस्तो बताएका हुन् ।
दलीय पक्षधरताबाट मुक्त रहेको वर्तमान सरकारले निष्पक्ष र धाँदलीरहित निर्वाचन गराउने उनको दाबी छ ।
उनले वर्तमान संविधानलाई यथावत कायम गर्नका लागि पनि तोकिएकै समय निर्वाचन हुनुपर्ने बताए ।
गृहमन्त्री अर्यालले वर्तमान संविधान र व्यवस्थालाई कायम राख्नुपर्ने भएकोले निर्वाचन अपरिहार्य रहेको उल्लेख गरे।
उनले स्वतन्त्र नागरिकको सरकार भएकोले वर्तमान सरकारले कसैको पनि पक्षधरता नलिने बताए ।
उनले वर्तमान सरकार बनेपछि सुरक्षा फौजको मनोबल पनि बढ्दै गएको दावी गरे ।
हाल नागरिक र सुरक्षा निकायबीच सहकार्यको वातावरण बनिसकेको उल्लेख गर्दै उनले यसलाई निरन्तरता दिने बताए।
उनले हाल जेन-जी आन्दोलनपछि संकटमा गएको देशलाई वर्तमान सरकारले सुरक्षित ढंगले व्यवस्थापन गरेको पनि दाबी गर्दै प्रहरीलाई उच्च मनोबलको साथ काम गर्न पनि आग्रह गरे ।





