काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्माबीचको वार्ता बिनानिष्कर्ष टुंगिएको छ।
देउवाले राजीनामा दिएर पार्टीको सक्रिय भूमिकाबाट अलग हुन अस्वीकार गरेपछि सहमति हुन नसकेको हो।
बुधबार बिहान देउवा निवास महाराजगन्जमा करिब एक घन्टा छलफल भएको थियो।
छलफलमा रमेश लेखक, बालकृष्ण खाण र मिनेन्द्र रिजाल पनि सहभागी थिए। महामन्त्रीद्वयले देउवाको राजीनामालाई ‘बटमलाइन’ बताए पनि संस्थापन पक्षले यो माग स्वीकार गरेन।
सहमति नजुटेपछि गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशन स्थलतर्फ लागेका छन्।
देउवासँगको वार्ताबाट निकास ननिस्किएकाले अब निर्वाचन प्रक्रिया अघि बढाइने विशेष महाधिवेशन पक्षले जनाएको छ।
यसैबीच संस्थापन पक्षका नेताहरू पार्टीको केन्द्रीय समिति बैठकका लागि सानेपामा जुट्दै छन्।
विशेष महाधिवेशन पक्षसँग सहमतिको प्रयासमा बैठक पटक-पटक सारिए पनि अझै निर्णायक नतिजा आएको छैन।
भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनमा मनोनयनको समय पनि थप गरिएको छ।
मंगलबार दिनभर भएको विभिन्न चरणका वार्ताहरू पनि देउवाको राजीनामा विषयमा सहमति नजुट्दा निष्कर्षविहीन भएका थिए।
योसँगै अब विशेष महाविधेशनमा निर्वाचनको प्रक्रिया अगाडि बढेको छ । सहमतिका लागि भन्दै हिजो दिउँसोदेखि थालिएको मनोनयनलाई आज बिहानका लागि समय थपिएको थियो । त्यससँगै हिजोका सबै निर्वाचन तालिका पछाडि धकेलिएको थियो ।
निर्वाचन प्रक्रिया अगाडि बढेको केन्द्रीय निर्वाचन समिति संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले बताए । उनका अनुसार समय थप गरिएको छ अब निरन्तर प्रक्रिया अगाडि बढ्ने बताए ।
अत्यधिक रुपमा महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशन स्थल भृकुटीमण्डपमा आउने क्रम जारी रहेको छ । उनीहरू अब निर्वाचनमा सहभागी भएरै छिनोफोनो गर्ने भनी आक्रोश व्यक्त गरिरहेका छन् ।
लुम्बिनी प्रदेशका उपसभापति भुवन श्रेष्ठले भने, ‘त्यसै फर्कने कुरै भएन । महामन्त्रीहरूले आह्वान गरे । ६० प्रतिशत भन्दा बढीले नयाँ नेतृत्व खोजेर आएका छन् । अब नेतृत्व परिवर्तन गरेरै जाने हो । यथास्थितिमा छाड्यो भने त कांग्रेस सकिन्छ ।’
दुई दिनका लागि आइतबारदेखि शुरू भएको विशेष महाधिवेशनको समय लम्बिएर आजसम्म पुगेको छ । आजै टुंगोमा पुर्र्याएर जिल्ला जिल्लामा फर्कन महाधिवेशन प्रतिनिधिहरू आतुर देखिएका छन् ।
एक महाधिवेशन प्रतिनिधिले भने, ‘देउवासँग वार्ता गर्नुको अर्थ थिएन । तैपनि गगन-विश्वले प्रयास गरे । केही बात छैन । अब हामीले नयाँ नेतृत्व चयन गर्छौं । असन्तुष्ट पक्षले जहाँ जानुपर्छ जाओस् । कांग्रेस कुनै व्यक्तिको पेबा हैन ।’




