नेपाली कांग्रेसका नेता डा. सुनील शर्माले एकताका नाममा पेल्ने, हेप्ने, कारबाही गर्ने वा पार्टीलाई विभाजनतर्फ धकेल्ने कुरा अस्वीकार्य रहेको बताएका छन् । विशेष महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले कांग्रेस संकटमा परे देश संकटमा पर्ने भएकाले उच्च जिम्मेवारीका साथ अघि बढ्न सबै नेताहरूलाई आग्रह गरे ।
साथै विवाद समाधानका लागि वार्ता समिति बनेकाले मंगलबार बेलुकासम्म वार्ता निष्कर्षमा पुर्याउन आग्रह गरे।
पार्टीभित्रका सबै मतभेदहरू संवादबाट टुंग्याउनुपर्नेमा उनको जोड छ ।
पार्टीका समस्याहरू संवादमार्फत टुंग्याइदनुपर्ने भन्दै उनले कांग्रेस अहिले गम्भीर संकटको मोडमा रहेको उल्लेख गरे ।
पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षर गरेर विधानसम्मत ढंगले विशेष महाधिवेशन बोलाइदिन आग्रह गर्दागर्दै केन्द्रीय समितिमा आफ्नो बहुमत छ भनेर कार्यकर्ताको मनोभाव अस्वीकार गर्नेहरूका कारण आजको परिस्थिति सिर्जना भएको उनले जिकिर गरे ।
उनले वर्तमान विषम परिस्थितिमा कांग्रेस र भावी पुस्ताको भविष्य सोचेर पार्टीलाई एकतावद्ध राख्न संस्थापन पक्षले त्याग, समर्पण र अग्रगामी निर्णयको नेतृत्व गर्नुपर्ने स्पष्ट पारे ।
नेतृत्व हस्तान्तरणका लागि तयार रहन सभापति शेरबहादुर देउवालाई आग्रह गर्दै उनले विशेष महाधिवेशन पक्षधरले पनि पार्टी एकताका लागि आम कार्यकर्ता र पार्टी हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए ।




