Nidan Media

किबी बेचेरै ८० लाख आम्दानी गर्छन् भार्सेका कृषक

गुल्मी । गुल्मीको सत्यवती गाउँपालिका-८ भार्सेका कृषकहरूले किबीखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन्।

उनीहरू अहिले किबी बिक्री गरेर वर्षेनी ८० लाख रुपैयाँभन्दा बढी कमाइ गर्दै आएका छन्। विसं २०६५ सालदेखि किबी खेती सुरु गरेका यहाँका कृषकका बारी अहिले किबीले हरियाली बनेका छन्। किबीको व्यावसायिक उत्पादन शुरू भएपछि उनीहरूको जीवनस्तरमा उल्लेखनीय सुधार आएको छ।

सत्यवती गाउँपालिका गुल्मी जिल्लामै सबैभन्दा बढी किबी उत्पादन हुने पालिका हो। विशेष गरी भार्से क्षेत्रमा ४० हेक्टरभन्दा बढी जमिनमा किबी खेती भइरहेको छ।

यस वर्ष मात्र त्यहाँ ८० टनभन्दा बढी किबी उत्पादन भएको स्थानीय कृषक यमबहादुर थापाले जानकारी दिएका छन्। यहाँ उत्पादन भएको किबी स्थानीय बजारसँगै पाल्पा र बुटवलसम्म बिक्री हुने गरेको छ। बजारमा भार्सेको किबी प्रतिकिलो दुई सयदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुन्छ।

सत्यवती गाउँपालिकाले भार्सेलाई किबीको पकेट क्षेत्र घोषणा गरेपछि कृषकहरूको आकर्षण अझ बढेको हो। गाउँपालिकाले कृषकलाई तालिम, प्राविधिक सहयोग, बिरुवा वितरण, खम्बा निर्माण र सिँचाइमा समेत सहयोग गर्दै आएको छ। साथै किबीबाट जाम र वाइन बनाउने तालिमसमेत दिइएको छ।

कृषक यमबहादुर थापाका एक सय ५० ओटा किबीका बोटले फल दिन थालेका छन्। उनका बारीमा रेडकिबी, हेवार्ड, एलिसन र ब्रुनो जातका किबी छन्। अन्य बालीभन्दा किबीबाट राम्रो आम्दानी हुने उनको अनुभव छ।

भार्सेका कृषकले पाँच ओटा किबी समूह बनाएर सामूहिक रूपमा खेती गरिरहेका छन्। किबी खेतीमा बाँदर, बनेल र चराचुरुङ्गीको समस्या कम हुने भएकाले पनि कृषकहरू आकर्षित भएका छन्।

किबी फल स्वास्थ्यका लागि लाभदायक मानिन्छ, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउने र पाचन प्रक्रियामा मद्दत गर्ने गर्छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.