चितवन । तनहुँको आँबुखैरहनी गाउँपालिका-५ द्वोन्द्राङ बेँसीस्थित त्रिशूली किनारमा बसको अवशेष भेटिएको छ ।
भरतपुर महानगरपालिका-२९ स्थित सिमलतालमा गत वर्ष बेपत्ता भएका दुई बसमध्ये एउटा हुन सक्ने आशङ्का गरिएको छ ।
बस बेपत्ता भएको ठाउँबाट २०० मिटर नजिक तनहुँतर्फ बसको अवशेष फेला परेको हो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार माछा मार्ने क्रममा जाल अड्किएपछि स्थानीयले खोतलेर हेर्दा बसजस्तो देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
सोलगत्तै बालुवामा पुरिएको अवस्थामा बस देखिएपछि खन्ने काम भइरहेको छ ।
उनका अनुसार निलो रङको देखिएको र सिमलतालमा हराएको गणपति बसको रङसँग मिलेकाले सोही बस हुन सक्ने सम्भावना रहेको छ ।
यद्यपि बस निकालेपछि मात्रै यकीन भन्न सकिने उनले जानकारी दिए ।
विसं २०८१ असार २८ मा नारायणगढ-मुग्लिन सडकखण्डको सिमलतालबाट पहिरोसहित दुई बस त्रिशूलीमा बेपत्ता भएका थिए ।
बागमती प्रदेश-०३-००१ ख २४९५ नम्बरको गणपति र बागमती प्रदेश-०३-००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स त्रिशूलीमा बेपत्ता भएका थिए ।
दुई बसमा सवार ६५ जनामध्ये ११ जनाको शव फेला परेको थियो भने तीन जना घाइते भएका थिए ।
घटनामा ५१ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताए ।





