Nidan Media

कांग्रेसको विशेष महाधिवेशन दिउँसो १ बजे उद्घाटन हुने

काठमाडौँ । नेपाली कांग्रेसको ऐतिहासिक दोस्रो विशेष महाधिवेशन आजदेखि काठमाडौँको भृकुटीमण्डपमा शुरू भएको छ।

महाधिवेशनमा सहभागी हुन देशभरबाट आएका प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि नै उत्साहजनक रूपमा अघि बढेको छ।

आयोजक समितिका अनुसार प्रतिनिधिहरूले आफ्नो नाम दर्ता धमाधम गराइरहेका छन्।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले दिएको जानकारी अनुसार देशभरका कुल चार हजार सात सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये सात ओटै प्रदेशका लागि छुट्टाछुट्टै डेस्क बनाएर दर्ता प्रक्रिया सहज पारिएको छ।

“अहिले पनि दर्ता स्थलमा लामो लाइन छ, जसले प्रतिनिधिको सहभागिता उत्साहजनक हुने सङ्केत गर्छ,” शिवाकोटीले भने। उनले ६० प्रतिशतभन्दा बढी प्रतिनिधिको उपस्थिति रहने दाबी गर्दै भृकुटीमण्डप क्षेत्र अहिले पूर्णरूपमा महाधिवेशनमय बनेको बताए।

महाधिवेशनको औपचारिक उद्घाटन आज दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय गरिएको छ। उद्घाटन अघि शक्ति प्रदर्शनका रूपमा काठमाडौँ र ललितपुरका विभिन्न छ स्थानबाट जुलुस निकालिँदैछ।

सचिवालयका अनुसार बिहान ११ बजे कुपण्डोल, सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पसचोक, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस शुरू हुनेछ।

यी सबै स्थानबाट निस्किएका र्‍यालीहरू भृकुटीमण्डपमा मिसिएपछि उद्घाटन सत्रको प्रारम्भ गरिनेछ।

आजको उद्घाटन सत्रपछि आजै बन्दसत्र पनि शुरू हुने कार्यतालिका छ।

यो विशेष महाधिवेशन सोमबारसम्म चल्नेछ, जहाँ पार्टीको आगामी कार्यदिशा र साङ्गठनिक सुदृढीकरणका एजेन्डाहरूमाथि छलफल हुने आयोजकले जनाएको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.