Nidan Media

प्रतिनिधिसभा निर्वाचनमा ‘एआई’ र ‘डिप फेक’ को दुरुपयोग रोक्न कडा नीति तयार

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन सामाजिक सञ्जालको प्रयोगमा कडा प्रतिबन्धसहितको आचारसंहिता तयार पारेको छ।

विशेषगरी आर्टिफिसियल इन्टिलिजेन्स (एआई) को प्रयोगमार्फत हुन सक्ने दुष्प्रचारलाई रोक्न आयोगले पहिलो पटक विस्तृत कार्यविधि ल्याएको हो।

आयोगका अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने उद्देश्यले नक्कली एकाउन्ट सञ्चालन गर्न वा ‘एआई’ को प्रयोग गरी कसैलाई होच्याउने र भ्रम फैलाउने सामग्री उत्पादन गर्न पाइने छैन।

आचारसंहिताले भ्रामक सूचना सम्प्रेषण, द्वेषपूर्ण भाषण (Hate Speech), र व्यक्तिगत लाञ्छना लगाउने कार्यलाई पूर्ण रूपमा निषेध गरेको छ।

कुनै पनि सामग्रीलाई तोडमोड गरी सामाजिक सञ्जालमा पोष्ट, रिपोस्ट, लाइभ स्ट्रिमिङ वा ट्याग गर्ने कार्यलाई समेत आचारसंहिताको दायरामा ल्याइएको छ।

“निर्वाचनको विश्वसनीयतामा आँच आउने गरी आयोग वा कर्मचारीको प्रतिष्ठामा लान्छना लगाउन पाइने छैन,” आयोगले भनेको छ, “कसैको चरित्र हत्या गर्ने वा मानहानी गर्ने सामग्री उत्पादन र प्रसारण गरेमा कडा कानुनी कारबाही हुनेछ।”

मतदाताको गोपनीयता भङ्ग गर्ने र निर्वाचनको निष्पक्षतालाई प्रभावित पार्ने कुनै पनि कार्यलाई कसुर मानिनेछ।

आयोगले यी सबै व्यवस्थासहितको आचारसंहिता आगामी माघ ३ गतेदेखि देशभर लागू गर्ने तयारी गरेको छ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.