Nidan Media

कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि, प्रतिनिधिको नाम दर्ता शुरू

काठमाडौँ । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आजदेखि शुरू हुँदैछ ।

विशेष महाधिवेशनका लागि अधिकांश जिल्लाबाट विशेष महाधिवेशन पक्षधर काठमाडौँ आइसकेका छन् ।

महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता बिहान ८ बजेदेखि नै शुरू भएको छ ।

दोस्रो विशेष महाधिवेशन व्यवस्थापन सचिवालय संयोजक मनोजमणि आचार्यका अनुसार कार्यक्रमस्थल भृकुटीमण्डप मूल गेट सँगैका स्टलहरूबाट नाम दर्ता हुनेछ ।

उनले नाम दर्ता गर्न आउँदा परिचय खुल्ने कुनै कागजात, एकप्रति पासपोर्ट साइजको फोटो र दर्ता शुल्क एक हजार रुपैयाँ साथमा लिइ आउनसमेत अनुरोध गरेका छन् ।

विशेष महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुनेछ । महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ ।

विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागी हुने दाबी गरिएको छ ।

गत असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका थिए ।

कांग्रेसको विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।

संस्थापनको बेवास्तापछि सोही विधानको दफालाई टेकेर कांग्रेसलाई पुनःजागरण गर्न महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माको अगुवाइमा दुई दिने विशेष महाधिवेशन आजदेखि हुन लागेको हो ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.