Nidan Media

खुल्यो पाल्पा सिमेन्टको आईपीओको आवेदन

काठमाडौँ । पाल्पा सिमेन्ट इण्डष्ट्रिज लिमिटेडले आजदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशनका लागि आवेदन खुला गरेको छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ जारी गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको छ ।

यसमध्ये पाँच प्रतिशत अर्थात १८ लाख ७५ हजार कित्ता शेयर पश्चिम नवलपरासी र पाल्पा जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ ।

यस्तै, कुल जारी शेयरको १५ प्रतिशतको १० प्रतिशत अर्थात पाँच लाख ६२ हजार पाँच सय कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि निष्काशन गरिएको छ ।

स्थानीय बासिन्दा र वैदेशिक रोजगारीतर्फ छुट्याइएको शेयर पूर्ण रूपमा बिक्री नभएमा बाँकी शेयर सर्वसाधारणमा समायोजन गरी निष्काशन गरिने कम्पनीले जनाएको छ ।

आईपीओमा न्यूनतम् १० कित्ता र अधिकतम् एक लाख कित्ता सम्म आवेदन दिन सकिनेछ ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि माघ ९ देखि माघ २५ गतेसम्म तोकिएको छ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन पुस ३० देखि माघ ९ गतेसम्म खुला रहनेछ ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ लिमिटेड रहेको छ।

पहिलो चरणअन्तर्गत स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि शेयर निष्काशन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.