बाँके । जिल्ला प्रशासन कार्यालय बाँकेले पहिलो पटक आमाको नामबाट वंशजको आधारमा नागरिकता प्रदान गरेको छ ।
प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम नेपालगञ्ज उपमहानगरपालिका वडा नं ८ अन्सारीटोल निवासी २४ वर्षीय मोहन गोडीयालाई बिहीबार वंशजका आधारमा नागरिकता प्रदान गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार मोहन गोडीयालाई उनकी ४६ वर्षीया आमा मायाकुमारी गोडीयाको नामबाट वंशजको नागरिकता प्रदान गरिएको हो ।
लामो समयसम्म नागरिकता प्राप्त गर्न नसक्दा शिक्षा, रोजगारी, खेलकुद तथा अन्य आधारभूत सेवाबाट वञ्चित हुँदै आएका मोहन गोडीयाले नागरिकता प्राप्त गरेपछि आफूलाई राज्यको वास्तविक नागरिक भएको अनुभूति भएको बताए ।
‘१७ वर्षको उमेरदेखि निरन्तर खेलकुदमा सक्रिय छु,’ उनले भने ।
उनले भने, ‘वि.सं. २०८० मा काठमाडौँमा सम्पन्न अन्तर नगरपालिका राष्ट्रिय खेलकुद तथा २०८१ मा चितवनमा भएको अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएँ । तर कागजातको अभावले धेरै अवसर गुमाउनुपर्यो।’
नागरिकता प्राप्त भएपछि जीवनको ठूलो बाधा हटेको महसूस भएको उनले बताए ।





