Nidan Media

विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेस सभापति बरालको आग्रह

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले लोकतन्त्रको रक्षा र पार्टीको सुदृढ भविष्यका लागि पार्टीको केन्द्रीय विशेष महाधिवेशनमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । पार्टीको आधिकारिक लेटरप्याडमै आँफैले हस्ताक्षर गरेर उनले यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘पार्टीको वैचारिक स्पष्टता, संगठनात्मक एकता, आन्तरिक लोकतन्त्र र देशको समसामयिक राजनीतिक चुनौतीहरूबारे गम्भीर निर्णय लिने यस विशेष अवसरमा कास्की जिल्लाबाट निर्वाचित सम्पूर्ण महाधिवेशन प्रतिनिधिज्यूहरूको सक्रिय, जिम्मेवार र गरिमामय उपस्थिति अत्यावश्यक रहेको छ।’

नेपाली कांग्रेस केवल एउटा राजनीतिक संगठनमात्र नभई लोकतन्त्र, समावेशिता र राष्ट्रिय एकताको आधारशिला भएको भन्दै उनले  यस्तो ऐतिहासिक घडीमा तपाईं महाधिवेशन प्रतिनिधिहरूको सहभागिता केवल औपचारिक उपस्थिति नभई पार्टीको भविष्य र राष्ट्रको दिशानिर्देशनसँग प्रत्यक्ष रूपमा जोडिएको कर्तव्य हो भन्नेमा आफू विश्वस्त रहको स्पष्ट पारे ।

सभापति बरालले भने, ‘नेपाली कांग्रेस कास्कीको सभापतिको हैसियतले म तपाईंहरू सबैमा विशेष महाधिवेशनमा अनिवार्य रूपमा उपस्थित भई महाधिवेशनलाई सफल, ऐतिहासिक र सार्थक बनाउन सक्रिय भूमिका निर्वाह गर्न हार्दिक अपिल गर्दछु ।’

हामी सबैको साझा सहभागिताबाट मात्र नेपाली कांग्रेसलाई थप बलियो, विश्वसनीय र जनमुखी बनाउन सकिने उनको बुझाई छ ।

नेपाली कांग्रेसको इतिहासमा अत्यन्तै महत्वपूर्ण मोडका रूपमा रहेको विशेष महाधिवेशन यही पुस २७ र २८ गते, काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुँदैछ।

पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाईमा विशेष महाधिवेशन आह्वान गरिएको हो ।

कांग्रेसको ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेरै केन्द्रीय विशेष महाधिवेशन बोलाउन माग गरेका थिए ।

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.