काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन् । पार्टीभित्र कयौँ पटक प्रयास गर्दा पनि सफल नभएपछि महामन्त्रीद्वय थापा र शर्माले बुधबार संयुक्त वक्तव्य जारी गर्दै महाधिवेशन आह्वान गरेका हुन् । यसअघि महामन्त्री थापाले कानूनविद् र बुद्धिजीविसँग छलफल गरेका थिए ।
सबै छलफलमा सहभागीले पछाडि नहट्न सुझाव दिएपछि थापा र शर्मा विशेष महाधिवेशन आह्वान गर्न अग्रसर भएका हुन् । तर पार्टीको संस्थापन पक्ष अझै टसकोमस भएको छैन । संस्थापन पक्षले नियमित महाधिवेशन आह्वान भइसकेकोले विशेष महाधिवेशनको औचित्य समाप्त भएको जिकिर गर्दै आएको छ ।
विधानको पालना गर्दै पार्टीलाई जीवन्त बनाउन विशेष केन्द्रीय महाधिवेशनमा आह्वान गर्नुपरेको महामन्त्रीद्वय थापा र शर्माको जिकिर छ ।
विज्ञप्तिमा भनिएको छ, ‘धारा १७ (२) बमोजिम विशेष महाधिवेशन आह्वान गर्न २४ सय ८८ जना (५४.५८) प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरी बदलिँदो राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ बनाउन, जनभावना अनुरुपको नीति निर्माण गर्नका लागि विशेष निर्णय लिनु अपरिहार्य भएको छ ।’
विशेष महाधिवेशनको माग गर्दै निवेदन पेस भएको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय भएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा थप भनिएको छ, ‘विशेष महाधिवेशनको माग गर्दै निवेदन पेस भएको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको कार्यसम्पादन र जिम्मेवारीको विषय थियो र हो। तसर्थः केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्यौँ तर केन्द्रीय कार्यसमितिबाट यो संभव हुन सकेन । तसर्थः केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन बोलाउनु उपयुक्त हुन्छ भनेर हामीले अधिकतम प्रयास गर्यौँ तर केन्द्रीय कार्यसमितिबाट यो संभव हुन सकेन।’
विधान बमोजिम निवेदन दिइसकेपछि विशेष महाधिवेशन बोलाउन नसक्ने अवस्थाको परिकल्पना नेपाली कांग्रेसको विधानले नगरेको उनीहरूको जिकिर छ ।
साथै पुस २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको उनीहरूले स्पष्ट पारे ।
‘विधान बमोजिम कारणसहित माग गरेको विशेष महाधिवेशनलाई असान्दर्भिक वा औचित्यहिन भन्ने अधिकार विधानले कसैलाई प्रदान गरेको छैन। यस्तो अवस्थामा विधानसम्मत माग बेवारिसे हुन सक्दैन, महाधिवेशन आफैँ क्रियाशील हुन्छ र तोकिएको समयसिमाभित्र विशेष महाधिवेशन हुन्छ भन्ने कुरा हामीले पार्टी बैठकमा पटकपटक राखेका हौँ । बहुमत महाधिवेशन प्रतिनिधिहरूद्वारा गरिएको विशेष महाधिवेशनको मागप्रति हाम्रो ऐक्यबद्धता रहेको छ। पौष २८ भित्र विशेष महाधिवेशन गर्नका लागि हस्ताक्षरकर्ता महाधिवेशन प्रतिनिधिको तर्फबाट भएको प्रयास महाधिवेशन प्रतिनिधिको वैधानिक अधिकार हो। पौष २७ र २८ का लागि तय भएको विशेष महाधिवेशन कानूनी र राजनितिक रुपमा समेत अपरिहार्य र बाध्यकारी बनेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले विज्ञप्तिमार्फत नेतृत्वमाथि प्रश्न गर्दै भनेका छन्, ‘विधान बमोजिम बाध्यकारी रहेको विशेष महाधिवेशन नबोलाउनु, विधानको पालना नगर्नु, जिम्मेवारी बमोजिम काम नगर्नु विधान र राजनीतिक दलसमबन्धी कानुनको समेत विपरीत हो। विधान र कानून बमोजिम पूरा गर्नुपर्ने जिम्मेवारी पूरा गर्नु केन्द्रको कर्तव्य र जिम्मेवारी हो ।
एउटा लोकतान्त्रिक पार्टीको जिम्मेवार पदाधिकारीको रुपमा यो हाम्रो वैधानिक एवं नैतिक दायित्व र जिम्मेवारी भएकाले सबैले त्यो जिम्मेवारी पूरा गर्नुपर्नेमा उनीहरूले जोड पदिएका छन् ।
विज्ञप्तिमार्फत उनीहरूले पार्टी विधानको धारा ३(१२) तथा धारा २७(१) समेतको व्यवस्थालाई आत्मासात् गर्दै विधानको धारा १७(२) अनुसार मिति २०८२ पौष २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुन गइरहेको विशेष महाधिवेशनमा सहभागी हुन आग्रह गरेका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘विशेष महाधिवेशन बदलिएको समयको कांग्रेसका लागि, बदल्नुपर्ने देशका लागि हो । हामी पार्टीमा नयाँ ऊर्जा भर्न दृढ संकल्पित छौँ । जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न हामी कटिबद्ध एवं प्रतिबद्ध छौँ ।’
यस्तो छ विज्ञप्ति






